वाक्य - sentence

स्वतन्त्र शब्दहरूबाट बनेको भाषाको सबभन्दा ठूलो सार्थक एकाइ वाक्य हो । दुई वा दुईभन्दा बढी शब्दहरूबाट निर्मित हुने उपवाक्यभन्दा माथिल्लो भाषिक एकाइलाई वाक्य भनिन्छ । अथवा कुनै उद्वेश्य र विधेय मिलेर रचना भएको स्वतन्त्र भाषिक एकाईलाई वाक्य भनिन्छ ।

बनोटको आधारमा वाक्य निम्न प्रकारका छ्न् :-

१. सरल वाक्य 
एउटा मात्र स्वतन्त्र उपवाक्य भएको वाक्यलाई सरल वाक्य भनिन्छ । अथवा एक उद्देश्य र एक विधेयको मेलबाट बनेको वाक्यलाई सरल वाक्य भनिन्छ । 
जस्तै :- राम रोयो । हिजो राम धुरुधुरु रोयो ।

२. संयुक्त वाक्य 
दुई वा दुईभन्दा बढी स्वतन्त्र उपवाक्यलाई र, वा, अथवा, या, तथा, कि, किनकि, किनभने, किन्तु, परन्तु जस्ता निरपेक्ष संयोजकले जोडेको वाक्यलाई संयुक्त वाक्य भनिन्छ । अथवा दुई वा दुईभन्दा बढी स्वतन्त्र उपवाक्यलाई निरपेक्ष वा समपदिक संयोजकद्वारा संयोजन गरेर बनेको वाक्यलाई संयुक्त वाक्य भनिन्छ ।
जस्तै :- रेबन मेहनत गरेर पढ्छ तर कहिल्यै पास हुँदैन ।

यहाँ 'रेबन मेहनत गरेर पढ्छ' र 'कहिल्यै पास हुँदैन' दुई स्वतन्त्र उपवाक्यहरूलाई 'तर' निरपेक्ष संयोजकले जोडेको छ ।

३. मिश्र वाक्य
मुख्य उपवाक्य र अधीन उपवाक्य मिली बनेको वाक्यलाई मिश्र वाक्य भनिन्छ । यस्ता वाक्य जो, जे, जुन, भने, जसले जहाँ जस्ता संयोजक पदले जोडिएका हुन्छन् । अथवा एउटा प्रमुख उपवाक्य र अर्को एक वा सोभन्दा धेरै सहायक उपवाक्यहरूलाई सापेक्ष संयोजकले जोडेको वाक्यलाई मिश्र वाक्य भनिन्छ ।
जस्तै :- तिमी जहिले आउँछौ, म तहिले खाना बनाउँछु ।

यहाँ 'तिमी जहिले आउँछौ', मुख्य उपवाक्य हो भने 'म तहिले खाना बनाउँछु' मुख्य वाक्यमै आश्रित सहायक उपवाक्य हो । यश वाक्यमा आएका दुई उपवाक्यहरूलाई 'जहिले तहिले' सापेक्ष संयोजकले जोडेका छन् ।

वाक्यसंश्लेषण 
दुई वा दुईभन्दा बढी सरल वाक्यहरूलाई मिलाएर एउटै वाक्य बनाइने प्रक्रियालाई वाक्यसंश्लेषण भनिन्छ । अथवा स्वतन्त्र अवस्थाका सरल वाक्यहरूलाई जोडेर नयाँ वाक्य निर्माण गर्नु 
वाक्यसंश्लेषण हो ।

वाक्यसंश्लेषण गर्ने तरिका :

१. ( क ) भाइ विद्यालय जान्छ ।
    ( ख ) भाइ पढ्छ ।

= भाइ विद्यालय गएर पढ्छ ।

२. ( क ) म भात खान्छु ।
     ( ख ) म स्कुल जान्छु ।
     ( ग ) म घर आउँछु ।

= म भात खाएर स्कुल गएर घर आउँछु ।

वाक्यविश्लेषण
सरल, संयुक्त र मिश्र वाक्यलाई साना-साना सरल वाक्यहरूमा टुक्रा-टुक्रा पार्नुलाई नै वाक्यविश्लेषण भनिन्छ । अथवा वाक्यलाई विभिन्न खण्डमा टुक्रयाएर देखाउने कार्यलाई वाक्यविश्लेषण भनिन्छ ।

वाक्यविश्लेषण गर्ने तरिका :

१. म भात खाएर स्कुल जान्छु ।
= म भात खान्छु । म स्कुल जान्छु ।

२. राम बजार जान्छ तर तरकारी किन्दैन ।
= राम बजार जान्छ । राम तरकारी किन्दैन ।

३. जब घाम लाग्छ, तब गर्मी हुन्छ ।
= घाम लाग्छ । गर्मी हुन्छ ।