कर्ताको लिङ्ग, वचन, पुरुष अनुसार क्रियालाई पनि कर्ताकै लिङ्ग, वचन, पुरुष र आदर अनुसार राख्नुलाई नै पदसङ्गति भनिन्छ । वाक्यमा सम्बन्धित पदहरू बिचको मेल अथवा एकरूपता नै पदसङ्गति हो । वाक्यका निश्चित क्षेत्रमा वचन, लिङ्ग, पुरुष र आदरको एकरूपता आवश्यक हुन्छ । यस्तो एकरूपता अर्थात सङ्गति नमिलेको वाक्य अधुद्ध मानिन्छ ।
जस्तै :-
उसले परीक्षा दिए । ( सङ्गति नमिलेको )
उसले परीक्षा दियो । ( सङ्गति मिलेको )
वाक्यपरिवर्तन गर्ने तरिका :
१. वाक्यपरिवर्तन गर्दा कर्तालाई जुन लिङ्ग, वचन, पुरुष र आदरमा राखिन्छ, क्रियालाई पनि कर्ता अनुसार नै राख्नुपर्छ ।
२. वाक्य परिवर्तन गर्दा परिवर्तन गर्न दिएको वाक्य कुन लिङ्ग, वचन, पुरुष र आदरको हो त्यो चिन्नुपर्छ । अनि मात्र परिवर्तन गर्नुपर्छ ।
पदसङ्गतिका क्षेत्र निम्नअनुसार छ्न् :
( क ) कर्ता र क्रियाको पदसङ्गति
( ख ) कर्म र क्रियाको पदसङ्गति
( ग ) विशेष्य र विशेषणको पदसङ्गति
( घ ) भेद्य र भेदकको पदसङ्गति
( ङ ) नाम र सर्वनामको पदसङ्गति