विविध शब्दहरू - Miscellaneous words

विविध शब्दहरू
क) अनुकरणात्मक शब्द :- कुनै वस्तु वा पदार्थको आवाज
तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै
अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित
हुन्छ ।
उदाहरण:
१) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु)
२) खलखली ( पसिना आउनु)
३) गजक्क ( हुनु)
४) घुटुक्क ( निल्नु)
५) हरहर ( तिर्खा लाग्नु)
६) घत्रक्क ( खस्नु)
७) चिरबिर ( चरा कराउनु ) आदि

वाक्यमा प्रयोग
#थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् ।
# थचक्क = अर्चना खाटमा थचक्क बसी।
# फटाफट = हरि फटाफट हिँड्दै छ।

ख) पारिभाषिक शब्द :-
खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ ।
उदाहरण:
१) वैधानिक = विधान वा नियमअनुसारको कुरा
२) निर्दलीय = कुनै राजनीतिक दलको व्यवस्था नगरिएको
३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था
४) परीक्षण = चेक, जाँच गर्ने काम
५) पत्रकार = लेख, रचना, समाचार आदिको सङ्कलन सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति

ग) प्राविधिक शब्द:-
कुनै
पनि किसिमको विज्ञान, प्रविधि तथा शिल्पकला आदिसँग सम्बन्धित रहेका
शब्दहरू प्राविधिक शब्द हुन् । प्राविधिक शब्दहरू पनि पारिभाषिक किसिमका
हुन्छन् ।
उदाहरण:-
रेडियो = तारको सम्बन्ध नभैई बिजुलीको सहायताबाट टाढाटाढाको खबर आदि प्रसारण गर्ने एक यन्त्र ।।
प्रसारण= व्यापक रूपमा फैलाउने वा प्रचारप्रसार गर्ने काम
विषाणु = विषालु वा सङ्क्रामक रोग सार्ने सूक्ष्म जीव ( भाइरस)
कीटाणु= रोग उत्पन्न गर्ने सूक्ष्मदर्शी सजीव वस्तु
जीवाणु = अनेक प्रकारको रोग उत्पन्न गर्न सक्ने जीवनशक्तियुक्त सूक्ष्म जीव
शल्यक्रिया = चिरफारद्वारा शारीरिक उपचार गरि ठीक पार्ने काम

प्राविधिक /पारिभाषिक शब्दको वाक्यमा प्रयोग
# प्रश्नावली = सर्वेक्षण गर्न सबै प्रश्नावली तयार पारिएको छ
# बहुमुखी = देवकोटा बहुमुखी प्रतिभा भएका व्यक्ति थिए।
# परिपत्र = शिक्षा मन्त्रालयबाट कोरोना महामारीको समयमा विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई परिपत्र गरिएको छ।
#मसौदा = संविधानको मसौदा तयार गर्न विभिन्न विद्वानको सहयोग लिइएको थियो।
# समानान्तर = समानान्तर चतुर्भुज बनाउने प्रयासमा अभिषेकले तीन दिन बितायो।

घ) श्रुतिसमभिन्नार्थक शब्द :-
सुन्दा एउटै जस्तो लाग्ने तर भिन्न अर्थ जनाउने शब्द श्रुतिसमभिन्नार्थक शब्द हुन् ।
उदाहरण :-
१) आँसु = अश्रु / आशु= छिटो
२) बाग = बगैँचा / बाघ= हिंस्रक जन्तु
३) बीस = अङ्क २० / विष= जहर/ बिख
४) बा = पिता / वा = अथवा
५) गर्व= अभिमान / गर्भ= कोख/ गोप्य स्थान

ङ) पर्यायवाची शब्द:-
कुनै शब्दको समान अर्थ दिने शब्दलाई पर्यायवाची शब्द भनिन्छ।
उदाहरण
मान्छे = नर, मानिस
स्कुल = विद्यालय , पाठशाला
जल = पानी, सलिल

च) विपरीतार्थक शब्द:-
उल्टो अर्थ दिने शब्दलाई विपरितार्थक शब्द भनिन्छ।
उदाहरण :
स्वर्ग = नर्क
उच्च = नीच
चढ्नु = झर्नु
चोर = साधु
जित्नु = हार्नु

छ) अनेकार्थी शब्द:-
कुनै शब्दको एउटा मात्रै अर्थ नलागेर धेरै अर्थ लाग्ने शब्दलाई अनेकार्थी शब्द भनिन्छ ।
उदाहरण :
ताप= दु:ख/ तातो
दर = भाउ / तीजमा खाने दर
हार = पराजय/ लहर / माला
मास = महिना/ दाल / मास्ने काम गर

ज) लघुतावाची शब्द
कुनै बस्तुको सानो रूप बुझाउने शब्दलाई लघुतावाची शब्द भनिन्छ।
झोला ........... झोली
डालो........... डाली
पुस्तक .......... पुस्तिका
अचार..........पित्को
खुकुरी.......... कर्द

उखान / टुक्का

झ) उखान :-
लोकजीवनमा प्रचलित कथन वा उक्तिलाई उखान भनिन्छ। उखानलाई लोकोक्ति, आहान, कहावत पनि भनिन्छ।
उदाहरण :-
१) अड्को पड्को तेलको धूप
२) अरूको लाख आमाको काख
३) आफू नमरी स्वर्ग देखिन्न

वाक्यमा प्रयोग

एक हातले ताली बज्दैन = परिवार राम्रोसँग चलाउन श्रीमान र श्रीमतीले एकअर्कालाई साथ दिनुपर्छ, उखान नै छ नि एक हातले ताली बज्दैन ।
ञ) टुक्का :-
लाक्षणिक अर्थ लाग्ने रसिलो झरिलो वाक्यांश टुक्का हो। अभिव्यञ्जनपूर्ण टुक्रे वाक्यलाई टुक्का भनिन्छ।
उदाहरण )
१) आलु खानु :- मर्नु / असफल हुनु
२) ज्यान दिनु :- मरिहत्ते गर्नु
३) डाडुमा पानी तताएर मर्नु :- हुतीहारा हुनु
४) जहाज डुब्नु :- बर्बाद हुनु
५) थाङ्नामा सुताउनु :- धोका दिनु/ झुक्याउनु
वाक्यमा प्रयोग
# पाउ मोल्नु = कार्यकर्ताहरू आफ्नो काम सफल पार्न नेताको पाउ मोल्न तयार हुन्छन् ।
# धोती न टोपी हुनु = चोरबाटो प्रयोग गरेर अमेरिका जान लाखौँ खर्च गरेको हरि अहिले धोती न टोपी भएको छ।
# दिन फर्कनु = दु:खमा बाल्यकाल बिताएको हरिको अहिले दिन फर्किएको छ।