काल शब्दले सामान्यतया समयलाई वुझाउँछ । क्रियाको कार्य व्यापार, घटना, अवस्था वा क्रियाको कामको समयलाई संकेत गर्ने व्याकरणिक कोटीनै काल हो । कालका वर्तमान, भूत र भविष्यत् गरी तीन चरण हुन्छन् । पक्ष कालको पनि काल समय हो । कालको सुक्ष्म अवस्था लाईनै पक्ष भनिन्छ । यसरी हेर्दा वर्तमान कालका तीन, भूतकालका पाँच र भविष्यत्कालका तीन वटा पक्ष रहेका छन् ।
पक्ष पक्ष भनेको क्रियाको कालको विशेष अवस्था हो । पक्षलाई विशेष काल पनि भनिन्छ । क्रियाको काल विभिन्न सन्दर्भमा प्रयुक्त हुन्छ र यस्तै अवस्थागत भिन्नता जनाउने प्रयोगहरू नै पक्ष हुन् । त्यसैले निश्चित कालको सीमाभित्र हुने क्रियाको कार्यको प्रवृतिलाई पक्ष भनेर चिनाउन सकिन्छ । विशेष गरेर कृदन्तीय क्रियासँग कालिक क्रियापदको संयोजन गरेर पक्षको रुप निर्माण गर्न सकिन्छ । जस्तै :- खान्छ, खाँदै छ, खाएको छ, खाएछ आदि ।
१) वर्तमान काल :
अहिलेको समयमा कुनै पनि काम भइरहेको जनाउने क्रियाको काल नै वर्तमान काल हो । वर्तमान कालका पक्षहरु :
(क) सामान्य वर्तमान काल :
चलिरहेको समयमा कुनै काम सामान्य तवरले हुन्छ भन्ने बोध गराउने क्रियाको पक्ष सामान्य वर्तमान हो । जसमा (धातु + छु, छौं, छस्, छन् , छेस्, छ्यौ, नुहुन्छ , छ, छे, छिन्) र यिनका अकरण रुपहरु पर्दछन् ।
शंकरले पढाइलाई ठूलो कुरा ठान्छ ।
विपिनले सरले भनेको सवै कुरा मान्छ ।
अनुशासननै ठूलो गहना हो मानिसको,
सन्देश विद्यालयबाट सरासर घर जान्छ ।
प्रस्तुत सामान्य वर्तमान कालमा आधारित मुक्तकले शंकरका माध्यमबाट विद्यार्थीले पढाइमा ध्यान दिनुपर्छ, विपिनका माध्यमबाट गुरु गुरुआमाको आज्ञाकारी वन्नुपर्छ र सन्देशका माध्यमबाट अनुशासनपूर्वक समयमै घर पुग्नुपर्छ भन्ने सन्देश विद्यार्थीका लागि दिन खोजिएको छ ।
(ख) अपूर्ण वर्तमान काल :
चलिरहेको समयमा कुनै काम हुँदै छ । समाप्त भएको छैन भन्ने बोध गराउने क्रियाको पक्ष अपूर्ण वर्तमान हो जसमा, (धातु + तैं, दैं सामान्य वर्तमान कालका रुपायक प्रत्ययहरु छ, छौं )
सीताले घरबाट ल्याएको खाजा खादैंछे ।
रीताले फोहोर डस्विनमा हाल्न जादैंछे ।
ठूलोलाई आदर, सानालाई माया गर्नुपर्छ,
गीताले सानो भाइलाइ शौचालय लादैंछे ।
प्रस्तुत अपूर्ण वर्तमान कालमा आधारित मुक्तकले सीताका माध्यमबाट विद्यार्थीले घरैबाट सफा र स्वच्छ खाजा ल्याउनुपर्छ, रीताका माध्यमबाट फोहोर डस्विनमा फाल्नुपर्छ र गीताका माध्यमबाट सानोलाई माया र ठूलोलाई आदर गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।
(ग) पूर्ण वर्तमान काल :
चलिरहेको समयमा कुनै काम पुरा भएको तर त्यसको असर बाँकी छ भन्ने अवस्थाको बोध गराउने क्रियाको पक्ष पूर्ण वर्तमान हो । ( धातु + एको, एकी, एका + सामान्य वर्तमान कालका रुपायक प्रत्ययहरु )
रामले आज नयाँ साथी भेटेको छ ।
श्यामले साथीको नाम लेखेको छ ।
पढेकाहरु विदेश विदेश भन्छन् ,
हरिले नेपालमै भविष्य देखेको छ ।
प्रस्तुत पूर्णवर्तमान कालमा आधारित मुक्तकले रामका माध्यमबाट विद्यार्थीले नयाँ साथी बनाउनुपर्छ भन्ने कुरा, श्यामका माध्यमबाट साथीको सँधै सम्मान गर्नुपर्छ भन्ने कुरा र हरिका माध्यमबाट पढेर विदेशको कल्पना मात्रै होइन नेपालमै पनि सुन्दर भविष्य छ है भन्ने सन्देश दिन खोजिएको छ ।
२) भूतकाल :
वितेको समय जनाउने क्रियाको समयलाई भूतकाल भनिन्छ ।
भूतकालका पक्षहरु :
(क) सामान्य भूतकाल :
विगतमा कुनै पनि काम सामान्य रुपमा घटेको थियो भन्ने बोध गराउने क्रियाको पक्ष सामान्य भूत हो । ( धातु + एँ, इनँ, यो, एनौं, इस, इनस, यौ, एनौ, इनौ, इन, इनन्, ए, एनन )
दीपकले सुरिलो भाकामा गीत गायो ।
रमेशले मादल बजाएर स्यावासी पायो ।
अनेक अनेक प्रतिभा हुन्छन् विद्यार्थीसँग
रोदनले उत्तर मिलाएर चक्लेट खायो ।
प्रस्तुत सामान्य भूतकालमा आधारित मुक्तकले दीपकका माध्यमबाट विद्यार्थीसँग गीत गाउने कला, रमेशका माध्यमबाट सिर्जनात्मक क्षमता र रोदनका माध्यमबाट तीक्ष्ण बुद्धि विद्यार्थीसँग रहन्छ । जुन हामीले चिन्न सक्नु पर्छ भन्ने सन्र्दभ दिन खोजिएको छ ।
(ख) अपूर्ण भूतकाल :
विगतमा कुनै काम सुरु भएर सम्पन्न हुँदै थियो भन्ने बोध गराउने क्रियाको पक्ष अपूर्ण भूत हो । (धातु+तै, दै) जोडेर थियो, थिए, थिइस, थिएँ, थियौ जस्ता सहायक क्रिया प्रयोग गरी निर्माण गरिन्छ ।
कमलले झोलामा सबै किताब कापी राख्दै थियो ।
मिलनले आफूले वनाएको चित्र भित्तामा टाँस्दै थियो ।
असल विद्यार्थीहरु केही न केही गरिरहेका हुन्छन् ,
राजनले कागजका टुक्रा डस्टविनमा हाल्दै थियो ।
प्रस्तुत अपूर्ण भूतकालमा आधारित मुक्तकले कमलका माध्यमबाट विद्यार्थीले सबै किताब कापी मिलाएर राख्नुपर्छ भन्ने कुरा, मिलनका माध्यमबाट आफ्नो प्रतिभा प्रदर्शन गर्नुपर्छ भन्ने कुरा र राजनका माध्यमबाट असल विद्यार्थीले आफ्नो वरिपरि सरसफाई राख्छन् भन्ने सन्देश दिन खोजिएको छ ।
(ग) पूर्ण भूतकाल :
विगतमा कुनै काम सम्पन्न भएको थियो भन्ने बोध गराउने क्रियाको पक्ष पूर्णभूत हो । ( धातु + एको, एका, एकी + थियो, थिए, थियौ, थिएँ ) जस्ता सहायक क्रियाको प्रयोग गरि निर्माण गरिन्छ ।
कामनाले कक्षा कोठामा ध्यान दिएर सुनेकी थिई ।
भावनाले मुख्य मुख्य कुरा कापीमा टिपेकी थिई ।
सवै विद्यार्थीले सकेको प्रयास गरेका थिए तर,
चाहानाले गृहकार्य सवै भन्दा राम्रो लेखेकी थिई ।
प्रस्तुत पूर्ण भूतकालमा आधारित मुक्तकले कामनाका माध्यमबाट विद्यार्थीले कक्षा कोठामा ध्यान दिएर सुन्नुपर्ने, भावनाका माध्यमबाट गुरु गुरु आमाले पढाउँदा मुख्य मुख्य शब्द कापीमा टिप्नुपर्ने र चाहानाका माध्यमबाट हरेक विद्यार्थीले उत्तिकै मिहिनेत गरेको हुन्छ त्यसमा कोही एक जना उत्कृष्ट हुुुन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
(घ) अज्ञात भूतकाल :
विगतमा कुनै काम भएको तर पछि मात्र थाहा हुन आएको अवस्थाको बोध गराउने क्रियाको पक्ष अज्ञात भूत हो । ( धातु + एछु, इछस्, एछौ, इछेस् , एछौं, इछ्यौ, नुभएछ, एछ, इछे, इछिन्, एछन् र यिनका अकरण रुपहरु )
नवीन कक्षामा प्रथम भएछ ।
श्यामले थुप्रै पुरस्कार लगेछ ।
पुरस्कार देखेर होला सायद,
राम नियमित विद्यालय गएछ ।
प्रस्तुत अज्ञात भूतकालमा आधारित मुक्तकमा नवीनका माध्यमबाट विद्यार्थी प्रथम भएको जानकारी, श्यामका माध्यमबाट लगनशील व्यक्तिले धेरै पुरस्कार लैजान सक्ने कुरा र रामका माध्यमबाट पुरस्कार ले आर्कषित भएपछि नियमित विद्यालय नजाने विद्यार्थीलाई नियमित जान प्रेरित गरेको सन्देश दिन खोजिएको छ ।
(ङ) अभ्यस्त भूतकाल :
विगतमा कुनै कामको बानी परेको तर हाल नभएको भन्ने बोध गराउने क्रियाको पक्ष अभ्यस्त भूत हो । ( धातु + थे, थ्यौं, थिस्, थ्यौ, नुहुन्थ्यो, थ्यो, थि, थिन्, थें र यिनका अकरण रुपहरु)
उज्जवल कक्षामा ध्यान दिएर सुन्थ्यो ।
राम नबुझेका कुरा दोहोर्याएर पढ्थ्यो ।
सबैका आ आफ्नै विशेषता हुन्छन,
गोपाल सुन्दर अक्षरमा गृहकार्य लेख्थ्यो ।
प्रस्तुत अभ्यस्त भूतकालमा आधारित मुक्तकमा उज्जवलका माध्यमबाट विद्यार्थीले ध्यान दिएर सुन्नु पर्ने, रामका माध्यमबाट आफूले नबुझेका कुरा पटक पटक सोध्नु पर्ने र गोपालका माध्मबाट हरेक विद्यार्थीसँग केही न केही राम्रा पक्ष हुन्छन भन्ने सन्देश दिन खोजिएको छ ।
३) भविष्यत् काल :
पछि आउने समयमा हुन सक्ने कार्यको बोध गराउने क्रियाको समयलाई भविष्यत् काल भनिन्छ । भविष्यत् कालका पक्षहरू :
(क) सामान्य भविष्यत् काल :
पछि आउने समयमा कुनै कार्य हुनेछ भन्ने बोध गराउने क्रियाको पक्ष सामान्य भविष्यत् हो । ( धातु+नेछु, नेछौं, नेछस्, नेछेस्, नेछौ, नेछ्यौ, नुहुनेछ, नेछ, नेछे, नेछिन् र यिनका अकरण रुपहरु )
सफलले राम्रो कविता लेख्नेछ ।
विकलले गृहकार्य सबै मेट्नेछ ।
ज्ञानी बन्न, असल हुनका लागि,
सरोजले मिहिनेत गरेर पढ्नेछ ।
प्रस्तुत सामान्य भविष्यत् कालमा आधारित मुक्तकमा सफलका माध्यमबाट विद्यार्थीसँग कविता लेख्न र सिर्जनशिलता हुनुपर्ने, विकलका माध्यमबाट गृहकार्य गर्न उत्प्रेरित गरेको अवस्था र सरोजका माध्यमबाट ज्ञानी र असल हुनका लागि मिहिनेत गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ।
(ख) अपूर्ण भविष्यत् काल :
पछि आउने समयमा कुनै काम भइरहने छ भन्ने अवस्थाको बोध गराउने क्रियाको पक्ष अपूर्ण भविष्यत् हो । ( धातु+तै, दै, जोडेर हुनेछु, हुनेछौं, हुनेछस्, हुनेछेस्, हुनेछौ, हुनुहुनेछ जस्ता सहायक क्रिया प्रयोग )
विद्यार्थी घर पुगी खाजा खाइ खेल्दै हुनेछन् ।
गुरु गुरुआमाले दिएको गृहकार्य लेख्दै हुनेछन् ।
विहान बाबा आमासँग उठी नित्य कर्म गरी,
मिहिनेती विद्यार्थीहरु पाठ पढ्दै हुनेछन् ।
प्रस्तुत अपूर्ण भविष्यत् कालमा आधारित मुक्तकमा विद्यार्थीका माध्यमबाट विद्यार्थी घर पुगेर खाजा खाइ खेल्ने अनि गृहकार्य गर्ने र मिहिनेती विद्यार्थी पाठ पढिरहेको हुनेछन् भन्ने सन्देश दिन खोजिएको छ ।
(ग) पूर्ण भविष्यत् काल :
पछि आउने समयमा कुनै काम भएको हुनेछ भन्ने अवस्थाको बोध गराउने क्रियाको पक्ष पूर्ण भविष्यत् हो । ( धातु+एको, एकी, एका जोडेर हुनेछ, हुनेछौं, हुनेछस्, हुनेछेस्, हुनुहुनेछ, हुनेछु......जस्ता सहायक क्रिया थपी क्रियापद निर्माण हुन्छ ।
उत्तमले प्रश्नको उत्तर सोचेको हुनेछ ।
पवनले पाठभित्रै उत्तर खोजेको हुनेछ ।
जसरी पनि विद्यार्थीले गृहकार्य गर्नै पर्यो,
नवीनले आफ्नो दाजुलाई सोधेको हुनेछ ।
प्रस्तुत पूर्ण भविष्यत् कालमा आधारित मुक्तकले उत्तमका माध्यमबाट विद्यार्थीले गम्भिर भएर उत्तर सोच्नुपर्ने, पवनका माध्यमबाट उत्तर पाठभित्रै हुने र त्यसको खोजी गर्नुपर्ने साथै नवीनका माध्यमबाट आफूले जानिएन भने जान्ने ब्यक्तिसँग भएपनि सोधेर गृहकार्य गर्नुपर्छ है भन्ने सन्देश दिन खोजिएको छ ।
लेखक शिव माध्यमिक विद्यालय गलकोट नगरपालिका काँडेवास, बागलुङका प्रधानाध्यापक हुन् । उनको यो सामग्री नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको “शिक्षक प्रतिभा गोष्ठी –२०७५” मा प्रथम भएको थियो ।